दफा ४२
धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको अवधि र नवीकरण
(१) धितोपत्र बजार सञ्चालन गर्न प्रदान गरिएको अनुमतिपत्र जुन आर्थिक वर्षमा जारी गरिएको हो सोही आर्थिक वर्षको अन्त्यसम्म मात्र कायम रहनेछ । (२) धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको वार्षिक शुल्क बोर्डमा बुझाई धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण गर्नु पर्नेछ । (३) उपदफा (२) बमोजिमको म्यादभित्र वार्षिक शुल्क बुझाई त्यस्तो अनुमतिपत्र नवीकरण गर्न नसकेमा सो म्याद समाप्त भएको तीन महिनासम्म वार्षिक शुल्कको पच्चीस प्रतिशत जरिबाना तिरी सो अनुमतिपत्र नवीकरण गराउन सकिनेछ । (४) उपदफा (३) बमोजिमको म्यादभित्र पनि त्यस्तो अनुमतिपत्र नवीकरण नगराउने संगठित संस्थाले प्राप्त गरेको धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र खारेज हुनेछ ।